महिनावारी हुँदा पर होइन घर

दैलेख : दैलेखको भगवतिमाई गाउँपालिकामा महिनावारी स्वच्छता दिवस मनाइएको छ । महिनावारी हुँदा पर होइन घर भन्ने मूल नाराका साथ मङ्गलवार विभिन्न सन्देशमूलक कार्यक्रम सहित महिनावारी दिवस मनाइएको हो । हरेक वर्ष मे २८ तारिकका दिनमा मनाइने महिनावारी दिवस महिलाहरूले महिनावारी भयको वेला पाएको दुख र कुसंस्कारका विरुद्ध सचेतना समुदायमा जगाउने र महिनावारी पाप नभई महिलामा हुने मासिक प्रक्रिया भएकाले सबैले सामान्य लिनुपर्ने गाउँपालिका उपाध्यक्ष मिना खड्काले बताइन् ।

महिलाहरू महिनावारी भयका वेला छाउगोठमा बस्नु पर्ने बाध्यता र त्यसबाट हुने जोखिम बढ्न थालेपछि ३ वर्ष अघि सरकारले देशभर प्रहरी र स्थानीय तहका जनप्रतिनिधि परिचालन गरी छाउगोठ भत्काउने अभियान अघि सारेको थियो ।
तत्कालीन अवस्थामा केही छाउगोठ भत्काइए पनि गाउँघरमा जडो गाडेर बसेको कुसंस्कार छाउपडी प्रथा सजिलै निर्मूल हुन सकेको छैन । ग्रामीण क्षेत्रमा महिलाहरूले महिनावारी हुँदा कष्टकर दैनिकी बिताइरहेका छन् । पोसिलो खाना, दूध दही घ्यु खान नदिने धारा पधेरामा जान नदिने घरदेखि टाढै बसाल्ने जस्ता चलन गाउँघरमा कायम छन् ।

गाउँघरमा महिनावारी भयको वेला महिला माथि हुने विभेद अन्त्यका लागी हरेक वर्ष सवैका लागी दिगो खानेपानी सरसफाइ तथा स्वच्छता आयोजनाले जनचेतना मूलक कार्यक्रम गर्दै आयको छ । भगवतीमाई गाउँपालिका दैलेखमा महिनावारी भयको वेला पछिल्लो समय विभेद कम हून थालेको छ ।

गाउँपालिकामा सञ्चालनमा रहेका सरकारी तथा गैर सरकारी संस्थाहरूले समुदाय स्तरमा सचेतना क्रियाकलाप सञ्चालन गर्दै आएसँगै समाजमा हुने विभेदहरूमा कमी हुँदै आएको कार्यक्रममा सहभागी निर्मला खड्काले बताइन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार